‘इमान्दारीपूर्वक कार्य गर्न सकेमा जनताले संघीयताप्रति विकल्प खोज्दैनन्’

तु खबर संवाददाता
२०८१ माघ १८, शुक्रबार १८:१५

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले संघीय सरकार र प्रदेश सरकारले इमान्दारीपूर्वक कार्य गर्न सकेमा जनताले संघीयताप्रति विकल्प नखोज्ने बताएका छन् ।

बागमती प्रदेश सभाको सातौ वार्षिकोत्सवको अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले अहिले मुलुकमा संघीयता आवश्यक नरहेको भनि टिकाटिप्पणी भइरहेको अवस्थामा संघीय सरकार र प्रदेश सरकारले इमान्दारीपूर्वक कार्य गर्न सकेमा जनताले संघीयताप्रति विकल्प नखोज्ने बताएका हुन् ।

उनले मुलुकमा पूर्वाधार विकासको साथै स्थानीय निकायबाट जनतामा गुणात्मक सेवा प्रबाह गर्न संघीयताको संरचना अपरिहार्य रहेको उल्लेख गरे । प्रदेश सरकारले जनताको लागि आर्थिक समुन्नती तथा शैक्षिक विकासको लागि योजना र बजेटलाई दिर्घकालिन रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले जनताको आवश्यकता र भौगोलिक अवस्थालाई समिक्षा गरेर राष्ट्रिय गौरबको आयोजना, विकासको पूर्वाधार र गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिन सके मात्रै संघीयताको लक्ष्य पूरा गर्न सकिने उनको भनाई छ ।

सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले प्रदेश सरकारले प्रदेशको सबै जिल्लाका स्थानीय निकायलाई सुशासन कायम गर्ने गरी आवश्यक ऐन कानूनको तर्जुमा गरिएको बताए । उनले जनतालाई सेवा प्रवाहमा गुणात्मक पक्षलाई गतिशील तुल्याई जनताको आस्था र विस्वास अभिवृद्धि गर्न जनप्रतिनिधि नै चनाखो हुनुपर्ने बताए ।

उनले प्रदेशमा सिमित स्रोतसाधन परिचालन गरी प्रदेश सभाका सदस्यहरुको माग अनुसार प्रदेशकोे ६६ निर्वाचन क्षेत्रमा क्रमशः राष्ट्रिय गौरबको आयोजनाको साथै कृषि उत्पादन, पशुपालन र साना घरेलु उद्योगलाई प्रोत्साहन गर्न आर्थिक प्याकेजको कार्यक्रम क्रमशः कार्यान्वयन गर्दै लैजान लागिएको बताए । प्रदेशमा सुशासन ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्दै शैक्षिक विकासलाई गुणात्मक रुपले अगाडि बढाउन प्रदेशको राजधानी हेटौंडामा विश्व विद्यालय स्थापना गरी उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाई छ ।

यस्तै, प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बागमती प्रदेशको विभिन्न जिल्लामा एतिहासिक सम्पदा र धरोहर रहेको उल्लेख गरे । प्रदेश सरकारले समयानुकुल ऐनकानूनको तर्जुमा गरी प्रदेशमा शान्तिसुरक्षा, मावन अधिकारको संरक्षण, प्रदेश प्रहरीको पदस्थापन र विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारलगायत आर्यआर्जनको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने उनले बताए ।

प्रदेश सभाका प्रमुख प्रतिपक्ष दल एवम् नेकपा माओवादी केन्द्र बागमतीको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले मुलुकमा राजनीतिक स्थायित्वको लागि नेकपा एमाले र नेपाली काँग्रेसको गठनबन्धनको प्रचार गरिएको उल्लेख गरे । उनले संघीय सरकार र प्रदेश सरकारले संविधानले दिएको अधिकार उपयोग गरी जनताको लागि प्रत्यक्ष योजना बजेट कार्यान्वयन गर्ने तर्फ उपेक्षा गरिएकोमा चिन्ता व्यक्त गरे ।

उनले संविधानमा संघीय प्रहरी प्रदेश सरकारको मातहतमा राखिएको व्यवस्था गरिएको भएपनि संघीय सरकारले आफ्नो स्वार्थको लागि प्रदेश सरकारलाई हस्तान्तरण नगरिएकोले प्रहरीको सरुवा, बढुवा र पदस्थापन गर्ने कार्यमा अवरोध पुग्दै आएकोले अब प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गरेर संघीय सरकारबाट उक्त अधिकार हाँसिल गर्न आग्रह गरे ।

सो अवसरमा बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले संविधानले दिएको अधिकारी प्रयोग गरी बागमती प्रदेश सभा गठन भएको उल्लेख गरे । जनप्रतिनिधिहरुले इमान्दारीपूर्वक प्रदेश सभामा विधेयक आउँदा ध्यानपूर्वक अध्ययन र अनुसन्धान गरी ऐन कानून तर्जुमा गरिएमा संघीयताको मर्म र भूमिका जनताले अझ बढी विश्वास गर्ने बताए ।

उक्त कार्यक्रममा प्रदेश सभाका उपसभामुख अप्परा चापागाईँ, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता उद्धब थापा, एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले प्रदेश सभाले समयनाकुल ऐन कानूनको तर्जुमा गरी प्रदेशका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय गौरबको आयोजना, पूर्वाधार विकास र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने योजना बजेटलाई अझ प्रभावकारी ढंगबाट अगाडि बढाउनेतर्फ प्रदेश सरकारको भूमिका सशक्त हु्नुपर्ने बताए । प्रदेशमा सुशासन ल्याउने कार्यक्रमलाई जनताको घरदैलोमा पुर्याउन सरकारले दिर्घकालिन कार्यक्रम ल्याउनुपर्ने उनीहरुले उनीहरुको भनाई छ ।

सो अवसरमा बागमती प्रदेश सभाको बैठकमा नियमित उपस्थित हुने प्रदेश सभाका पाँच जना सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा क्रमशः उद्धब थापा (राप्रपा संसदीय दलका नेता), गोविन्दप्रसाद लम्साल (कांग्रेस बागमतीका सचेतक), बालकुमारी विश्वकर्मा, मायाकुमारी कार्की र रामप्रसाद ढुंगाना रहेका छन् ।

यसैगरी, सो अवसरमा प्रदेश सभा सचिवालय कार्यालयमा कार्यरत सूचना अधिकारी हिमा न्यौपाने, सहायक कर्मचारी धिरज ढकाललगायत १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश सभा सचिवालयद्वारा प्रकाशित दर्पण स्मारिकको विमोचन गरेका थिए ।

यसअघि प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाको निर्माणधिन भवनको विभिन्न कक्षको आज अनुगमन समेत गरेका थिए ।