मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०८१ पुष ९, मंगलवार ०९:२४

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मोतीचौरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लुरु सिलवाल रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार बेलुका साढे ७ बजेको समय बाटो काट्दै गर्दा लुम्बिनी प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । घाइते उनलाई बाडेगाउँ प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।