बागमती प्रदेशमा घरेलु हिंसाका घटना वृद्धि

तु खबर संवाददाता
२०८१ मंसिर २०, बिहीबार १०:०५

मकवानपुर । बागमती प्रदेशमा घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडामा पछिल्लो चार महिनाको तथ्याङ्क अनुसार घरेलु हिंसाको घटनामा वृद्धि भएको पाइएको हो ।

सो अवधिमा ४८६ वटा घरेलु हिंसाका घटनाका उजुरी परेको छ । गत साउन महिनादेखि कात्तिकसम्मको अवधिमा सबैभन्दा धेरै घरेलु हिंसाका घटना भएको पाइएको हो ।

कुल निवेदनमध्ये ३२६ वटा मिलापत्र भएको, ६१ वटा अदालती प्रक्रियामा गएको २९९ वटा छलफलका क्रममा रहेको जनाइएको छ ।

सो अवधिमा प्रदेशको काठमाडौं उपत्यका बाह्ेक १० जिल्लामा सबैभन्दा धेरै चितवनमा १८७ वटा घरेलु हिंसाको मुद्दा दर्ता भएको छ भने रसुवामा शून्य रहेको छ ।

यसैगरी, कात्तिकसम्ममा ८१ वटा जबरजस्ती करणीका उजुरी, १७ वटा जबरजस्ती करणी उद्योगसम्बन्धी, २१ वटा बालयौन दुर्व्यवहार र अप्राकृतिक मैथुनसम्बन्धी, १५ वटा बहुविवाह र एउटा बालविवाहसम्बन्धी उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धको चार महिनामा २९० मुद्दा दर्ता भएको छ ।