हेटौंडामा दुई दिने उद्यमी मेला
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने उद्यमी मेलाको आयोजना गरिएको छ । उक्त मेला संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यु.एन.डिपीसँगको साझेदारीमा एलोई प्रालिको आयोजना तथा व्यवस्थापनमा भएको हो ।
मेला सामुदायिक वन उपभोक्ता समूह र साना तथा घरेलु उद्यामीले उत्पादन गरेको सामग्री प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
हेटौंडाको पल्पसा पाराडाइजमा भएको मेला आजसम्म संचालन हुनेछ । मेलामा मकवानपुर उद्योग वाणिज्य संघ र प्राकृतिक स्रोतमा महिला अधिकार डब्लू.आर.आर.एनको सहयोग रहेको छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन तथा विकासका लागि मेला आयोजना गरिएको एलोई प्रालिकी ज्योति खनालले जानकारी दिइन् ।
मेलामा सामुदायिक वनमा आबद्ध महिलाले उत्पादन गरेका सामग्रीहरु बेसार, दारको ठेकी, हस्तकलाका सामग्री, जातीय भेषभुसाको स्टल, माटोका भाँडा, खाद्य स्टल र कृषि उत्पादन लगायतका २२ वटा स्टल रहेको सामुदायिक वन उपभोक्ता समूहकी परियोजना संयोजक सन्ध्या सिवाकोटीले बताइन् ।
मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
