मामाघर नेपालमा मनाए सक्षमले जन्मदिन

तु खबर संवाददाता
२०८१ कार्तिक २३, शुक्रबार २०:०४

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का सक्षम गोतामेले आफ्नो १३ औं जन्मदिन मामाघर नेपालमा मनाएका छन् । उनले शुक्रबार मामाघरमा आश्रित बालकहरुका लागि खाद्यान्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन् ।

उक्त अवसरमा सक्षमले मामाघरलाई चामल, दाल, नुन, तेल, चिउरा, बिस्कुट लगायतका खाद्यन्न हस्तान्तरण गरेका थिए । शिदार्थ शिसुसदनमा कक्षा ७ मा अध्ययनरत सक्षमले जन्मदिनमा केक काटेर फजुल खर्च गर्नुभन्दा सडक बालकहरुको जिवन सुधार्न केन्द्रीत मामाघरलाई सहयोग गर्नु उचित लागेर सहयोग गरेको बताए ।

उनले मामाघरको कामले नेपाल सडक बालबालिका मुक्त होस भन्ने अपेक्षा राखेको पनि बताए । सहयोग हस्तान्तरणका लागी सक्षमसँग उनका हजुरबुबा ओमप्रसाद चौलागाईँ, हजुरआमा सुमिता चौलागाईँ र आमा श्रीजना चौलागाईँ समेत मामाघरमा पुगेका थिए ।

सक्षमले आगामी दिनमा पनि आफ्नो जन्मदिन मामाघर नेपालमा मनाउने र सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।