बागमती प्रदेशमा साढे २ अर्बभन्दा बढी राजश्व संकलन

तु खबर संवाददाता
२०८१ आश्विन ७, सोमबार १६:०८

मकवानपुर । बागमती प्रदेश सरकारले पछिल्लो २ महिनाको अवधिमा साढे २ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि भदौ महिनाको अन्तिमसम्म २ अर्ब ६५ करोड ४३ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको राजस्व संकलनमा वृद्धि आएको छ । गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि भदौ मसान्तसम्मको आयभन्दा २२ दशमलव ३ प्रतिशतले राजस्व संकलनमा वृद्धि आएको हो ।

आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा २ अर्ब १७ करोड ५२ लाख ११ हजार राजस्व संकलन भएको थियो । चालु आव २०८१–८२ मा ४७ करोड ९१ लाख ३१ हजार बढी राजस्व संकलन गर्न सफल भएको सो मन्त्रालयका प्रशासन महाशाखा प्रमुख होमनाथ रिजालले बताए ।

चालु आपर्तक वर्षमा कुल आय अनुमानको ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारमा ४ दशमलव ११ प्रतिशत राजस्व प्राप्ति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवमा प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशन दस्तुर, बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँड भई प्राप्त हुने अन्त शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र दहत्तर वहत्तरको बिक्रीबाट प्राप्त हुने आय मार्फत् राजस्व संकलन गरिएको हो ।