कर्मचारी सञ्चय कोष हेटौंडा शाखाले ६३ औं वार्षिकोत्सव मनायो
मकवानपुर । कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौडाले ६३ औं वार्षिकोउत्सव मनाएको छ । सञ्चय कोष हेटौंडा शाखाले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
‘सुरक्षित भविष्यका लागि निवृत्तिभरण तथा सञ्चय कोष’ भन्ने नाराका साथ कर्मचारी सञ्चय कोष शाखा हेटौंडाले वार्षिकोउत्सव मनाएको हो ।
कार्यक्रम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव कृष्ण कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि कार्कीले कर्मचारी सञ्चय कोषले आफ्नो सेवा प्रभावलाई स्तरीय बनाउन यसका लगानीका दायराहरु विस्तार गर्दै जानुपर्नेमा जोड दिए ।
उनले सञ्चयकर्ताको रकमलाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने बताए । प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि योगदानमा आधारित निवृत्तिभरण कोषमा समेट्नका लागि कानूनी स्पष्टता आवश्यक रहेको उनले औंल्याए ।
कार्यक्रममा कार्यालय प्रमुख दिलिपराज पौडेलले कोषको गतिबिधि तथा सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनाली, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, चारवटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
