मुख्यमन्त्री लामाद्वारा बागमती प्रदेश प्रहरीको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश प्रहरीको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार एक कार्यक्रमबीच प्रदेश प्रहरीको नजनिर्मित ५ तले प्रशासनिक भवन उद्घाटन गरेका हुन् ।
सो क्रममा मुख्यमन्त्री लामाले प्रहरी प्रशासनबाटै जनताले राज्यको प्रत्यक्ष अनुभुति गर्ने बताए । प्रहरीले नागरिकसँग गर्ने व्यवहारबाटै राज्यतर्फ नागरिकको धारणा तय हुने भनदै उनले जनतालाई राज्यबाट दिन सकिने पहिलो सेवा नै प्रहरी सेवा भएको र त्यसतर्फ संवदेनशील बन्नुपर्नेमा जोड दिए ।
उनले नवनिर्मित भवनबाट प्रदेशभर शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई थप सहज हुनेमा आफु विश्वस्त रहेको बताए । अपराध नियन्त्रण, प्रभावकारी अनुसन्धान, विपद्, उद्धार जस्ता जनमुखी प्रहरी सेवा प्रदान आधुनिक प्रहरी संगठनबाट मात्र सम्भव हुने उनको भनाई छ ।
साथै मुख्यमन्त्री लामाले बागमती प्रदेश प्रहरीलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
यसैगरी, सो कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले संविधानमा व्यवस्था भए अनुरुपको अधिकारको प्रत्यायोजन अझै हुन नसकेकोमा दुःख व्यक्त गरे ।
उनले संघीयताको प्रभावकारी कार्यान्वयनको लागि प्रहरी समायोजन हुनुपर्ने बताए । मन्त्री लामिछानेले प्रदेश प्रहरीको बारेमा रहेको द्विविधालाई हटाउन राजनीतिक नेतृत्वहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
नेपाल सरकारले लागू गरेको भवन निर्माणसम्बन्धी आचासंहितालाई पालना गरी भूकम्पीय जोखिमलाई न्यूनीकरण हुने गरी उक्त भवन निर्माण गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।
उनका अनुसार, २० करोड ५१ लाखको लागतमा निर्माण गरिएको सो भवनमा १ सय ३२ कोठा रहेका छन् ।