मकवानपुरका ६४ जनामा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा जिल्लाका ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कूल संख्या ६४ पुगेको हो ।
उक्त तथ्याङ्क साउन १ गतेदेखि साउन ३० गते बुधबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ३७ जना महिला र २७ जना पुरुष रहेका छन् ।
सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा १६ पुरुष र ३१ महिला गरी ४७ जना, मकवानपुरगढी गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, कैलाश गाउँपालिकाका एक पुरुष, मनहरी गाउँपालिकाका पाँच जना पुरुष, बकैया गाउँपालिकाका दुई पुरुष र एक महिला गरी ३ जना, भीमफेदी गाउँपालिकाका एक जना महिला, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका एक महिलामा डेंगु संक्रमण पुष्टि भएको हो ।
जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
