मकवानपुरका ५३ जना डेंगु पुष्टि

तु खबर संवाददाता
२०८१ श्रावण २७, आईतवार १७:३४
file-photo

मकवानपुर । मकवानपुरमा जिल्लाका ५३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कूल संख्या ५३ पुगेको हो ।

उक्त तथ्याङ्क साउन १ गतेदेखि साउन २७ गते आइतबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ३३ जना महिला र २० जना पुरुष रहेका छन् ।

सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा १२ पुरुष र २७ महिला गरी ३९ जना, मकवानपुरगढी गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, मनहरी गाउँपालिकाका चार पुरुष, बकैया गाउँपालिकाका एक पुरुष र एक महिला गरी २ जना, भीमफेदी गाउँपालिकाका एक जना महिला, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका एक महिलामा डेंगु संक्रमण पुष्टि भएको हो ।

जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।