प्रभावकारी बन्दै हेटौंडाको न्यायिक समिति, ८७ प्रतिशत मुद्दाको समाधान
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । नगर अन्तरगत रहेको उक्त समिति विवाद समाधानमा प्रभावकारी बन्दै गएको हो ।
उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा ८७ प्रतिशत विवाद समाधान गरेको छ ।
समितिको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/०८१ साउनदेखि असार मसान्तसम्ममा दर्ता भएका मुद्दामध्ये ८७ प्रतिशत मुद्दाको विवाद समाधान गरेको हो ।
सो न्यायिक समितिमा गत आवमा २ सय ५२ मुद्दा दर्ता भएको थियो । यस्तै, अघिल्लो आर्थिक वर्षबाट ८० मुद्दा सरेर आएको थियो । ती दुबै गरी ३ सय ३२ विवाद रहेका थिए । जसमध्ये १ सय ८३ विवाद मेलमिलापमार्फत् समाधान भएको जनाइएको छ ।
दर्तामध्ये ३९ विवाद भने अदालत जान सुनाइएको छ । २७ विवाद न्यायिक समितिमा प्रक्रियामा रहेको न्यायिक समितिका संयोजक एवम् उपप्रमुख बानियाँले जानकारी दिए ।
फैसला भएको विवाद संख्या ३, अन्य न्यायिक निकायमा जान सुनाइएको १८, निवेदन फिर्ता ६, मुलतबीमा १३, तामेलीमा ३ र १७ विवाद मेलमिलाप केन्द्रमै छलफल प्रक्रियामा रहेको जनाइएको छ ।
