हेटौंडा उपमहानगर पुर्ण खोप सुनिश्चितता पालिका घोषित

तु खबर संवाददाता
२०८१ असार ३२,सोमबार ०९:०५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार हेटौंडा उमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच हेटौंडालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

उपमहानगर भित्र रहेका ५ वर्ष उमेर समूहभन्दा मुनिका ७ हजार १ सय ८५ जना बालबालिकालाई पुर्ण खोप लगाइएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद तिवारीले जानकारी दिए ।

उपमहानगरपालिका भित्र रहेका ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकालाई खोप दिएसँगै उपमहानगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिती मकवानपुरका सचिव कृष्णबहादुर मिजारले उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामालाई हस्तान्तरण गराएका थिए ।

उपमहानगरको स्वास्थ्य शाखाका अनुसार, नगर क्षेत्रमा खोप लगाउँन तयार भएका १५ महिना मुनिका ३ हजार ९४१ जना बालबालिकाको तथ्याङक पनि तयार गरेर राखिएको जनाएको छ ।

कार्यक्रममा उपमेयर राजेश बानियाँ, स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख सागर घिमिरे, वडाध्यक्ष लगायतले पूर्ण खोपको निरन्तरताका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा १९ वटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीहरुलाई खादा ओढाएर सम्मान सहित कदर पत्र पनि प्रदान गरिएको थियो ।