सिमलताल पहिरो: हराएका बसको खोजी गर्न ठुलो चुम्बक प्रयोग
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै भेटिएका छैनन् ।
शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि बस नभेटिएपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुई बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठुलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी गराएको हो ।
शनिबार बेपत्ता यात्रीमध्ये तीन जनाको शव फेला परेको छ । तीनै जनाको शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जनाइएको छ ।
शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसलाई पहिरोमा पुरिएको थियो ।
काठमाडौंबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना यात्रु थिए । उनीहरुको अवस्था अज्ञात छन् ।
