हेटौंडा–८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

तु खबर संवाददाता
२०८१ असार ३०,शनिबार १७:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो ।

शनिबार चन्द्रोदय माध्यमिक विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले ८ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।

सो क्रममा बाल्दै मेयर लामाले निकट भविष्यमा उपमहानगरलाई बालमैत्री नगर घोषणा गरिने बताइन् । बालबालिकाहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम बनाउनुपर्ने जरुरी रहेको उल्लेख गरिन् ।

कार्यक्रम ८ नं. वडाध्यक्ष रामकृष्ण थापाको सभाध्यक्षतामा भएको हो । सो क्रममा वडाध्यक्ष थापाले बालमैत्री वडा घोषणाको लागि आवश्यक ५१ वटा सुचकहरु मध्ये ४६ वटा सुचक शतप्रतिशत र बाँकी ५ वटा सूचकहरु ९० प्रतिशत भन्दा माथि पूरा गरेको जानकारी दिए ।

कार्यक्रममा उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, वडा अध्यक्षहरु लगायत टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीयहरुको सहभागिता रहेको थियो ।