सिमलताल पहिरोः नारायणी नदीमा एक जनाको शव भेटियो

तु खबर संवाददाता
२०८१ असार ३०,शनिबार १६:३६
file-photo

काठमाडौं । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा एक पुरुषको शव भेटिएको छ । उक्त शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त शव २८ वर्षीय भारतीय नागरिक ऋषि पल साहका हुन् । साह गणपति डिलक्सका यात्रु हुन् ।

नदी किनारमा घोप्टो परेको अवस्थामा मृत भेटिएका उनको साथबाट प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक भएको पुष्टि भएको जनाइएको छ ।

साह बिहार सितामणि बर्गेनिया जमुनिया निवासी हुन् । शव उनको दाइले सनाखत गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे ३ बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोमा पुरिएको थियो ।

दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छन् । उनीहरुको नेपाली सेनाकासहित २८ जना गोताखोर परिचालन गरिएको छ ।