पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर । अबिरल वर्षाका कारण आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरोे खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो ।
अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’ को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने जनाइएको छ ।
अहिले गन्तव्यमा हिँडेका यातायात सडकमा नै रोकिएका छन् । बर्खा सुरु भएलगतै उक्त राजमार्गसहित विभिन्न स्थानमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।