पोखरेलको ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक
मकवानपुर । पूर्व शिक्षक ऋषिराम पोखरेलले आफ्नो जीवनका विभिन्न अनुभूति समेटिएको पुस्तक ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक गरेका छन् ।
सर्जक सञ्जाल मकवानपुरले बुधबार एक कार्यक्रमबीच पोखरेलको पहिलो कृति सार्वजनिक गरेको हो ।
पुरस्कारको प्रकाशकको रुपमा पुरनबहादुर जोशी रहेका छन् । लेखक पोखरेलले आफ्नो कृतिलाई अनुस्मरण मानेका छन् ।
कृतिमाथि टिप्पणी गर्दै समालोचक घनश्याम घिमिरेले कृतिमा लेखक आफूले भोगेका विभिन्न अनुभवहरु र गरेका अनुभूतिहरु जस्ताको तस्तै किताबमा उतारेको बताए ।
कार्यक्रममा साहित्यकार देवराज तिवारी र शान्तिप्रिय बन्दनाले पनि कृतिभित्रको वैचारिक पाटो, नारीवादी चेतका साथ विभिन्न सकारात्मक र सुधारात्मक पाटोबारे चर्चा गरे ।
कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षता एवम् शिक्षा सेवी देव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा कृतिकार पोखरेल, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा–४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष ईन्द्र नेपाललगायतको आतिथ्यता रहेको थियो ।
