विपद्को घटनामा परी ८३ जनाको मृत्यु, ५ जना बेपत्ता

तु खबर संवाददाता
२०८१ असार २७,बुधबार १७:२२
तस्वीर स्रोतः नेपाल प्रहरी

काठमाडौं । अविरल वर्षाको कारण आएको बाढी–पहिरो लगायत विपद्को विभिन्न घटनामा परेर देशभर ८३ जनाको मृत्यु भएको छ ।

गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, विपद्मा परी कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको हो ।

यसैगरी, विपद्मा परी १०६ जना घाइते भएका छन् । जसमा कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी–पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।

सो अवधिमा बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ४२ वटा घर, ५५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ४ सय ११ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ९ सय ५४ घर परिवार विस्थापित भएका छन् ।

यसैगरी, बाढी–पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।