इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा १२ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार २५,सोमबार १६:०२
file-photo

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुस्थित एउटा अवैध सुन खानीमा पहिरो जाँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

स्थानीय गोरोन्तालो प्रान्तको सुमावा जिल्लामा आइतबार बिहान गएको पहिरोमा परेर खानी र अवैध उत्खनन् क्षेत्र नजिकै बसोबास गर्ने कामदार र बासिन्दाको मृत्यु भएको स्थानीय उद्धार एजेन्सीले जनाएको छ ।

उक्त पहिरोमा परेर १८ जना बेपत्ता भएका छन् । सो घटनामा माटोमुनि पुरिएका ५ जनाको सकुशल उद्धार गरिएको पनि बताइएको छ ।

यद्यपि उद्धार टोलीले सोमबार पनि बेपत्ता १८ जनाको खोजी जनाइएको छ ।– एजेन्सी