पहिरोमा पुरिएकी महिलाको शव फेला
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये एक महिलाको शव फेला परेको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये ४० वर्षीया हीरा नेपालीको शव गएराति फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त पहिरोमा पुरिएर अझै दुई जना बेपत्ता रहेका छन् । पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको छ ।
उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।
पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।
