पहिरोका कारण अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडक सुचारु

तु खबर संवाददाता
२०८१ असार २२, शनिबार १३:५८
file-photo

मकवानपुर । गएराति परेको अबिरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको हेटौंडाबाट काठमाडौं जोड्ने विभिन्न सडकखण्ड सुचारुमा आएको छ ।

पहिरोका कारण अवरुद्ध बनेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, हेबी नजिकै रहेको छेपारोमा आएको पहिरो हटाई सिस्नेरी र दक्षिणकालिका सडकखण्डमा यातायात संचालनमा आएको छ ।

बिहानैबाट अवरुद्ध उक्त सडक अपराह्न १ बजेको समयबाट यातायात सेवा संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसैगरी, इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा आएको पहिरोलाई हटाई आज अपराह्नबाट मातातिर्थ हुँदै काठमाडौं जाने सडक सुचारु गरिएको छ ।

यसैगरी, काठमाडौंको थानकोट हुँदै चित्लाङतर्फ आउने सडक पनि अहिले पहिरो हटाई संचालनमा ल्याइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यसैगरी, आज बिहानदेखि लगातार परेको वर्षाले भीमफेदी गाउँपालिका वडा नम्वर ४ रातोमाटेमा माथिबाट खसेको पहिरो हटाई हेटौंडा–भीमफेदीको यातायात एकतर्फ संचालनमा ल्याएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

त्यसैगरी, ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ३, पाङजुरे (भट्टेडाँडा नजिक) गएको पहिरो हटाउने प्रयास भइरहेको पनि उनको भनाई छ ।