पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०८१ असार २३,शनिबार ११:१८
file photo

मकवानपुर । अविरल वर्षाका कारण पहिरो जाँदा बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोका कारण भीमफेदी–फाखेलतर्फको सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५, महालक्ष्मी खोलामा पहिरो जाँदा भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सोही सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा माथिबाट खसेको पहिरो पन्छाई हाल यातायात सुचारु गरिएको उनले बताए ।

यस्तै, हेटौंडा–काठमाडौं जोड्ने कान्तिराजपथ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका–३, पाङजुरे (भट्टेडाँडा नजिक) पहिरो जाँदा आज बिहानैदेखि बाटो बन्द भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, उक्त सडकखण्ड अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका–८, माहादेवटार, प्रतापडाँडा, बकैया गाउँपालिका वडा नम्वर १२, आले, बकैया–११, सिमात घुम्ति पनि पहिरो गएको छ ।

अविरल वर्षाको कारण सडकमा माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको हुँदा बाटो खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ ।

त्रिभुवन राजपथ, हेटौंडा–फापरबारी–सिन्धुली सडकखण्ड र पूर्व–पश्चिम राजमार्ग भने हाल यातायात सुचारु रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।