अज्ञात समूहको कुटपिटबाट एकको मृत्यु

तु खबर संवाददाता
२०८१ असार २१, शुक्रबार १०:३८
सांकेतिक तस्वीर

पाँचथर । अज्ञात समूहको कुटपिटबाट पाँचथरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री) हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए ।

घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको जनाइएको छ ।