हेटौंडामा स्क्रावल कार्यशाला

तु खबर संवाददाता
२०८१ असार १७, सोमबार ०९:२३

मकवानपुर । मकवानपुरको हेटौंडामा स्क्रावल कार्यशालाको आयोजना गरिएको छ । उक्त कार्यशाला हेटौंडा–२ मा रहेको बाल जागृति इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा स्क्रावल क्लब मकवानपुरको संयोजनमा भएको हो ।

विद्यार्थीमा शाब्दिक ज्ञानका साथै समस्या समाधान सीप, जोखिम बहन तथा व्यवस्थापन गर्ने सीपलगायत ज्ञान र सीपको विकास गराउने उद्देश्यले उक्त कार्यशालाको आयोजना गरिएको हो ।

कार्यशालामा जिल्लाका ५७ वटा विद्यालयबाट २ सय ५६ बढी विद्यार्थीका साथै शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मुक्तानले कार्यशालाको उद्घाटन गरेकी थिइन् । नेपाल स्क्राबल क्लबका अध्यक्ष केशव पराजुली र केन्द्रीय प्राविधिक संयोजक अर्जुन पाण्डेले स्क्रावल कार्यशालामा सहजीकरण गरेका थिए ।

कार्यशालापश्चात ५७ विद्यालयलाई स्क्राबल बोर्ड हस्तान्तरण गरिनुका साथै अन्तराष्ट्रियस्तरमा खेलमा सहभागिता जनाइसकेका ७ जनाका साथै केन्द्रीय अध्यक्ष पराजुलीलाई सम्मानसमेत गरिएको थियो ।

स्क्रावल बोर्डमा खेलिने एक रोचक शब्द खेल हो । जसमा चेसमा जस्तै देखिने बाकसमा अक्षरहरु मिलाएर शब्द र शब्दहरुको जालो बनाइन्छ । यस शब्द खेलको माध्यमबाट विद्यार्थीले विशेष गरी हिज्जेमा धेरै सुधार गर्न सक्ने स्क्रावल क्लव मकवानपुरका अध्यक्ष विवशजंग थापाले बताए ।