गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
गुल्मी । गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरोले पुरिएर ५६ वर्षीय भेषबहादुर विक, उनकी बुहारी ३० वर्षीया सीता र नातिनी ७ वर्षीया सपनाको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, उक्त पहिरोमा पुरिएर भेषबहादुरको श्रीमती ४७ वर्षीया सुन्तली र २ वर्षीया नातिनी विपना बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य भइरहेको जनाइएको छ ।
हाल घटनास्थलमा इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली पुगेको छ ।
यस्तै, सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।
