पाठेघरको मुख तथा स्तनको क्यान्सरबारे अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ असार १३, बिहीबार १६:५६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम स्वास्थ्य मन्त्रालय अन्तरगत राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र र सञ्जीवनी हेल्थ मिडियाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. खगेश्वर गेलालले प्रदेशमा पाठेघरको मुखको तथा स्तनको क्यान्सरको स्थितीबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी, स्वास्थ्य निर्देशनालयका सजना साखले यी दुई किसिमका क्यान्सर संक्रमणको संख्या नेपालमा बढ्दो क्रममा रहेको जानकारी गराउँदै क्यान्सर केहो, यसको जोखिम, न्यूनिकरणको प्रयास, उपचार, लक्षणबारे बताएकी थिइन् ।

यस्तै, कार्यक्रममा निर्देशनालयका सतिश विष्ठले प्रदेशभित्र विभिन्न स्वास्थ्य कार्यालयमा यस सम्बन्धी अभियानहरु र सुचनाहरु प्रवाह गरिरहेको बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका निवर्तमान अध्यक्ष एवम् सञ्जीवनी हेल्थ मिडियाका सञ्चालक रामप्रसाद न्यौपानेले सञ्चारकर्मीहरुले स्वास्थ्य सम्बन्धी समाचारको रिर्पोटिङ गर्दा धेरै विषयमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुङ्गेललगायतको आतिथ्यता रहेको थियो ।