मकवानपुरमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ जना बिरामी

तु खबर संवाददाता
२०८१ असार १२,मंगलवार १९:१७
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा पछिल्लो एक साताको अवधिमा जंगली च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् ।

जंगली च्याउ खाँदा असार ३ गतेदेखि असार १० गतेसम्म तीन जनाको मृत्यु र १६ जना बिरामी भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, च्याउ खाएर घाइते र मृत्यु हुनेमा राक्सिराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकाका रहेका छन् ।

च्याउ खाएर राक्सिराङका एक जना र कैलाशका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ७ दुगुवाङ बस्ने वर्ष ५५ को बलबहादुर प्रजा, कैलाश गाउँपालिका वडा नम्वर ९, नामटार बस्ने वर्ष २५ की निरुमाया रुम्बा र सोही ठाउँ बस्ने बिनोद लामाको ४ वर्षीय छोरा दिपेश लामा रहेका छन् ।

तीमध्ये प्रजाको असार ९ गते चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा, रुम्बाको असार १० गते हेटौंडा अस्पतालमा उपचारको क्रममा र लामाको चितवनको सीएमसी अस्पतालमा उपचार भइरहेको अवस्थामा असार ८ गते परिवारले आफु खुसी अस्पतालबाट घरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

यस्तै, च्याउ खाएर बिरामी परेकामध्ये ८ जनाको अवस्था सामान्य भई हेटौंडा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ८ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अहिले जंगलमा उम्रिएका च्याउ घरमा ल्याएर पकाएर खाने प्रचलन छ । तर, कुन च्याउ खान हुने र कुन् च्याउ खान नहुने भनेर छुट्याउन नसक्दा मकवानपुरमा मृत्यु हुने र बिरामी हुनेहरुको संख्या बड्दो छ ।