हेटौंडामा मुस्लिम आयोगको अभिमुखीकरण कार्यक्रम

तु खबर संवाददाता
२०८१ असार ८,शुक्रबार १८:४२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विविध विषयक सशक्तिकरण तथा क्षमता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ ।

उक्त अभिमुखीकरण कार्यक्रम शुक्रबार मुस्लिम आयोगको आयोजनामा भएको हो । कार्यक्रम बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रमा आले मगरको प्रमुख आतिथ्यता एवम् मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले मुस्लिम समुदायको सशक्तिकरणमा प्रदेश सकारको सधैँ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

मुस्लिम लगायत सिमान्तकृत तथा अल्पसंख्यक जाति समुदायको लागि सरकारले संविधानमै आरक्षण लगायतको ब्यवस्था गरेको बताउँदै उनले भनिन्, ‘प्राप्त अधिकारहरु लिनको लागि समुदाय नै अग्रसर हुनुपर्छ । राज्य सहयोग गर्न तयार छ, तर राज्यको ढोकासम्म पनि तपाईहरु आउनुपर्छ ।’ साथै धर्म र जातिको नाममा हुने बिभाजन र राजनीति रोक्न सबै समुदाय सचेत हुनपर्ने मगरको भनाई छ ।

यस्तै, आयोगका अध्यक्ष अन्सारीले लामो संघर्षपछि संविधानमा मुस्लिम समुदायको अधिकारहरु उल्लेख भएको र सोही अनुसार आयोग बनेको बताए । आयोग बनेपछि बिभिन्न क्षेत्रमा आरक्षण, समान शिक्षा, सिप विकास, महिला अधिकार लगारको पक्षमा उल्लेखति कामहरु भएको उनको भनाई छ । ‘अझै पनि मुस्लिम महिलाहरुलाई शिक्षामा पछाडी छ, अन्य समुदाय सरह बिभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न सकिरहेको छ्रैन’, अन्सारीले भने, ‘अधिकार खोज्ने मात्र होइन, समान प्रतिस्पर्धा गर्न सक्ने बनाउने हाम्रो उदेश्य हो ।’

कार्यक्रममा मुस्लिम आयोगका सदस्य तथा प्रवक्ता मिर्जा अर्सद वेग, सदस्य मोहम्मत समसुल हक, नेपाली कांग्रेस मकवानपुरका सचिव इश्वर पाठक, नेकपा एमालेका जिल्ला सदस्य सानु लामा, नेपाल समाजवादी पार्टी मकवानपुरका इन्चार्ज इजहार आलम, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार न्यौपाने, कुस्ती संघका केन्द्रीय कोषाध्यक्ष जब्स मिया लगायतको आतिथ्यता रहेको थियो ।