करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

मलंगवा । सर्लाहीको बरहथवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका–१० का २१ वर्षीय आबोध ठाकुर रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
ठाकुर बरहथवा नगरपालिका–५ स्थित नेपाल टेलिकमको कार्यालयमा ज्याला मजदुरीको काम गर्दै आएका थिए । उनलाई कार्यालयकै काम गर्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका ठाकुरको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि हरिवनको सरस्वती अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, करेन्ट लागेर मृतक आबोधका भाई १० वर्षीय आनन्द ठाकुर घाइते भएका छन् । उनको बरहथवामै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।