पत्रकारलाई न्यूनतम पारिश्रमिक दिन अध्यक्ष खड्काको आग्रह
मकवानपुर । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न आग्रह गरेकी छन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा आज हेटौंडामा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र संशोधन विषयक विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहले कर्मचारी राख्न नहुने सुझाव दिइन् । अध्यक्ष खड्काले वि.सं. २०७५ मा पत्रकार तथा सञ्चारमाध्यममा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक तोकिएको भन्दै यसलाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताइन् ।
पछिल्लो समय प्रविधि क्षेत्रमा आएको परिवर्तनले पत्रकारिता क्षेत्रमा थप सङ्कट र चुनौती थपिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।प्रविधिको विकाससँगै चुनौती थपिएको भन्दै उनले पत्रकार अभाव, दबाब र प्रविधिको चुनौतीमा रहेका उल्लेख गरिन् । ‘न्यू मिडिया’ को विकाससँगै रेडियो, टेलिभिजन, पत्रपत्रिकाले पाउने विज्ञापन घट्दै गएको छ, उनले भनिन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य शान्ता अधिकारीले १६ वर्षअघि बनेका कानुन संशोधन हुन नसकेको भन्दै श्रमजीवी पत्रकारका पक्षमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिइन् । उनले श्रमिक र सञ्चारमाध्यम दुवै बाँच्नुपर्ने भन्दै सोही अनुसारका कानुन बनाउन माग गरिन् ।
