सेयर बजारमा उतारचढाव कायमै
मकवानपुर । विहिबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स ०.७३ प्रतिशतले घटेर ३६५.०५ विन्दुमा अडिएको हो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो । सोमबार सार्वजनिक विदा परेकाले कारोबार भएन । मंगलबार १८.७६ अंकले घटेको नेप्से परिसूचक बुधबार २.२७ अंकले ओरालो लागेको थियो ।
कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । यसदिन ३०६ स्टकको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँमा खरिदबिक्री भयो । बुधबार २.२७ अंकले बढेको सेयर बजारमा ३ अर्ब ४० करोड मूल्य बराबरको कारोबार भएको थियो ।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कालिका लघुवित्त वित्तीयको सेयर सर्वाधिक ७.७१ प्रतिशतले बढ्यो । यसैगरी बराही हाइड्रोपावरको सेयर ६.६३ प्रतिशत,सनराइज ब्लूचीप फण्डको ५.९३,गुडविल फाइनान्सको ५.४६ र ग्रीन भेन्चरको ५.०९ प्रतिशतले बढ्यो ।