स्मृति दिवसमा पाँच वृद्ध सम्मानित
मकवानपुर । मीनबहादुर थपलिया स्मृती प्रतिष्ठानले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ का पाँच वृद्धलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले १९ औं स्मृति दिवसको अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याएका ८० वर्ष उमेर माथिका वृद्धलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा क्रमशः ऋषिराम घिसीङ, डोलानाथ दुवाडी, प्रेम मोक्तान, देवन्द्रराज उपाध्याय र मान बहादुर लामा रहेका छन् ।
उक्त कार्यक्रम नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको प्रमुख आतिथ्यता एवम् प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको हो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले राजनीतीमा लागेर समाजमा सकारात्मक परिवर्तन गर्नेहरुका योगदानलाई समाजले सदैब सम्झीरहनुपर्ने बताए । उनले समाजको विकास र समृद्धिका लागि योगदान गर्नेहरु नै समाजमा अमर रहने उल्लेख गरे ।
कार्यक्रममा हेटौंडा–१४ का वडाध्यक्ष दिपक खड्का, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी लगायत राजनीतिक दलका प्रतिनिधी र संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।
पूर्व गाविस उपाध्यक्ष थपलियालाई १९ वर्ष अघि सशस्त्र युद्धका बेला उनको घरमै गोलीहानी हत्या गरिएको थियो । थपलियालाई राज्यले सहीद घोषणा गरेको छ ।
