हेटौंडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानमा गाभ्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन

तु खबर संवाददाता
२०८१ असार २, आईतवार ०९:२०

मकवानपुर । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गाम्भे बागमती प्रदेश सरकारको निर्णयविरुद्ध विभिन्न राजनीतिक दलले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

हेटौंडा अस्पताललाई उक्त प्रतिष्ठानमा गाभेर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध मुख्यमन्त्री शालिकराम जम्कट्टेल सम्बद्ध दल माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपालगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरु ब्यानर, प्लेकार्डसहित हेटौंडा उपमहानगरपालिका–१० स्थित बागमती प्रदेशसभा भवन अगाडि प्रदर्शनमा उत्रिएका थिए ।

ती राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत हुनुभन्दा अगाडि प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका कारण ४ बजेको लागि आह्वान गरिएको प्रदेश सभा बैठक ६ बजेका लागि सारिएको थियो ।

हेटौंडा अस्पताललाई उक्त प्रतिष्ठानमा राख्ने सरकारको निर्णयविरुद्ध विभिन्न राजनीतिक दल, भातृ संगठनका नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् ।