चक्कु प्रहारबाट घाइते भएका युवकको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार ०९:४०
सांकेतिक तस्वीर

बुटवल । दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवकको गएराति मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुरमा मङ्गलवार राती चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको हो ।

उनको भारतको लखनउमा उपचारकै क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घर नजिकै बसिरहेको अवस्थामा सामान्य विवादका कारण मङ्गलवार राती युवाहरूको समूहले खड्कामाथि चक्कु प्रहार गरेको थियो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि नेपालगन्ज हुँदै थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको थियो ।

प्रहरीले चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षका विकास पुनलाई पक्राउ गेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।