हेटौंडा नगर प्रमुख र उप–प्रमुखद्वारा खेल मैदानको उद्घाटन

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १६:४५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सिमलटारमा निर्माण भएको फुटबल खेल मैदानको उद्घाटन गरिएको छ ।

हेटौंडा–११ सिमलटारमा निर्माण भएको उक्त खेल मैदानको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त खेल मैदान हेटौंडा–१० र हेटौंडा–११ को लगानीमा निर्माण गरिएको हो । उद्घाटन कार्यक्रम सिमलटार टोल विकास संस्थाका अध्यक्ष सूर्यमान लामाको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा ११ नम्वरका वडाध्यक्ष जुना दाहाल, एन्फाका केन्द्रीय सदस्य टीकाराम लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरे, वडा सदस्य सञ्जय विडारी वडा खेलकुल विकास समितिका अध्यक्ष प्रभाकर पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा खेलमैदान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरु र स्थानीय महिला बाजा समूहलाई सम्मान पनि गरिएको थियो ।