बागमती प्रदेशको बजेट असार १ गते प्रस्तुत हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०,बुधबार १०:०६
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट असार १ गते प्रस्तुत हुने भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सरकारको बजेट असार १ गते प्रस्तुत हुने जानकारी दिए ।

उनका अनुसार, बजेट प्रस्तुतका लागि असार १ गते अपराह्न ४ बजे बस्ने गरी प्रदेश सभा बैठक आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सरकारको तर्फबाट बजेट प्रस्तुत गर्नेछन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ ।

त्यसअघि प्रदेश सभा बैठक आगामी जेठ ३२ गते पनि बस्दैछ । जेठ ३२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको छ । बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत हुने कार्यक्रम रहेको सभामुख पाठकले बताए ।