थाहामा एसइई दिएर बसेका विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’ गरिएको छ ।
थाहा नगरपालिकाको महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र शाखाको आयोजनामा शुक्रबार र शनिबार ‘करियर काउन्सिलिङ’ गरिएको हो ।
नगरपालिका भित्रका एसईई दिएर बसेका विद्यार्थी, शिक्षक, अभिभावकलाई दिएको करियर काउन्सिलिङ र आर्ट अफ प्यारेन्टिङ कार्यक्रमको आयोजना गरिएको हो ।
दुई दिन संचालित कार्यक्रममा पहिलो दिन एसईई दिएर बसेका थाहाका १६ वटा संस्थागत तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई मोटिभेसनल स्पिकर अनिता बलले संसारमा हरेक मानिसमा भिन्दाभिन्दै प्रतिभा हुने भन्दै उनीहरुले आफू भित्रको प्रतिभा चिन्न सके जीवनमा सहजै सफल हुन सक्ने प्रेरणा दिएकी थिइन् ।
कार्यक्रममा थाहा जीवन योग प्रयोगशालाका योग गुरु देवेन्द्र रुपाखेतीले विद्यार्थीहरुलाई योग र ध्यानबाट काउन्सिलिङ गरेका थिए ।
यस्तै, कार्यक्रमको दोस्रो दिन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक अभिभावक संघका पदाधिकारी र अभिभावक हरुको निम्ति आर्ट अफ प्यारेन्टिङ कार्यक्रमको आयोजना गरिएको थियो ।
महिला तथा बालबालिका समिती संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की, प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरलगायत शिक्षक, विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
