नयाँ सदस्यलाई प्री इन्डक्सन एन्ड मोटिभेसन तालिम

तु खबर संवाददाता
२०८१ जेष्ठ २७, आईतवार ०८:४३

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रमा सक्रिय चैनपुर जेसीज मनहरीले नयाँ सदस्यका लागि तालिमको आयोजना गरेको छ । शनिबार प्री इन्डक्सन एन्ड मोटिभेसन तालिमको आयोजना गरेको हो ।

कार्यक्रम संयोजक राजु सुवेदीको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरी वर्ष सन् २०२४ का अध्यक्ष रबिन ढकालको अध्यक्षता तथा मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा भएको हो ।

वडाध्यक्ष अर्यालले युवाहरुको संस्था जेसीजसँग सहकार्य गर्दै अघि बढ्न वडा कार्यालय र मनहरी गाउँपालिका तयार रहेको बताए । जेसीजबाट राजनीतिक दल तथा अन्य संघसंस्थाले समेत ‘एक व्यक्ति एक वर्ष एक कार्यकाल’ को विषयलाई अवलम्बन गर्न सक्ने धारणा राखे ।

कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले चैनपुर जेसीज मनहरीलाई मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुको साझा संस्था बनाउने योजना रहेको बताउँदै जेसीज अभियानमा जोडिन युवाहरुलाई अनुरोध गरे ।

सहभागीलाई जेसीआई हेटौंडाका पूर्व अध्यक्ष दीपकराज मिश्रले सहजीकरण गर्दै जेसीजको बारेमा जानकारी दिएका थिए ।

यस्तै, अध्यक्ष रबिन ढकालले जेसीजमा आवद्ध हुन खोजेका युवाहरुलाई समेट्दै आफ्नो योजना अनुसार काम गरिने बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट ओमकुमार मगर र कृष्णप्रसाद खनालले आफ्नो अनुभव राखेका थिए ।

२५ जना युवाहरु चैनपुर जेसीज मनहरीमा आवद्ध हुन चाहेको जेसीजका महासचिव कृष्णप्रसाद ढकालले जानकारी दिए ।

यो जेसीजले अघिल्लो वर्ष बुटवलमा भएको ५० औं राष्ट्रिय महाधिवेशनबाट पूर्णता प्राप्त गरेको थियो ।