बागमती प्रदेश: विपद्का घटनामा परेर ६१ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १८:३९
file-photo

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ ।

प्रदेशमा गत वर्षको जेठमहिनादेखि हालसम्म भएका ८ सय ३६ विपद्का घटनामा परेर उनीहरुको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रविता कार्कीले जानकारी दिइन् ।

मन्त्रालयका अधिकृत कार्कीका अनुसार, सो अवधिमा एक सय ७७ जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

साथै सोही अवधिमा भएका घटनामा करिब रु ५१ करोडका साथै एक सय ७८ पूर्वाधारको क्षति भएका जनाइएको छ ।

प्र्रदेशमा चार सय ९७ आगलागीका घटना, एक सय २३ स्थानमा वन डढेलो, एक सय ९८ स्थानमा पहिरो गएका छन् । विपद्मा परेर ६ सय ३१ पशुचौपाया मरेका छन् ।

बागमती प्रदेश विपद्को दृष्टिकोणले बहु प्रकोपका रुपमा उच्च जोखिममा रहेको छ । जसमध्ये नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको अधिकृत कार्कीले बताइन् ।