हेटौंडामा विपद् प्रतिकार्यका लागि हात्तेमालो–६ नामक कृत्रिम अभ्यास
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित बन्द अवस्थामा रहेको कपडा उद्योग परिसरको क्षेत्रमा विपद् प्रतिकार्यका लागि हात्तेमालो–६ नामक कृत्रिम अभ्यास गरिएको छ ।
उक्त कृतिम अभ्यास प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट, रेडक्रस, हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्र टिमले संयुक्त रुपमा भूकम्प र आगोलागीसम्बन्धी कृत्रिम अभ्यास गरेक थिए ।
सो क्रममा सम्भावित दुर्घटना, खोज, सुरक्षित उद्धार प्रक्रिया, प्राथमिक उपचार, जनप्रतिनिधि तथा सरोकारवाला निकायको भूमिका र विपद् पछिको अवस्था, एकद्धार प्रणालीबाट राहत वितरण र पुर्नस्थापनाका प्रक्रियाको बारेमा डेमोमार्फत् नाटकीय रुपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेशका तीन वटै सुरक्षा निकायका प्रमुख लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
