वक्तृत्वकलामा जनप्रियकी तिमल्सिना प्रथम

तु खबर संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १८:२३

मकवानपुर । रानी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–६ ले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा रोजिना तिमल्सिना प्रथम भएकी छन् । ५२ औं विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा जनप्रिय माविकी तिमल्सिना प्रथम भएकी हुन् ।

यस्तै, प्रतियोगिताको द्धितियमा भानु माविकी अप्सरा लम्साल र तृतीयमा बुद्ध माविकी रोजिना घलान भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार रुपैंया प्राप्त गरेका छन् ।

‘जैविक विविधताको संरक्षणमा सामुदायिक वनको भूमिका र दायित्व’ विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको निर्णायकको भूमिका सुनिल शिवाकोटी, यदुनाथ घिमिरे र पूर्णभद्र चौलागाईँ गरेका थिए ।

प्रतियोगितामा ९ विद्यालयका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा हेटौंडा–६ का निवर्तमान वडाध्यक्ष अर्जुनप्रसाद चौलागार्इँ, सामुदायी वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईँ, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईँ, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, समूहका उपाध्यक्ष केशव धिताल, सचिव नानी माया रुम्वा, संचारकर्मी प्रदिप ढुङ्गाना, कार्यसमिति सदस्य, लेखा समिति लगायतको उपस्थिति रहेको थियो ।