हेटौंडा–११ मा बृहत खानेपानी आयोजना शुभारम्भ

तु खबर संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १८:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ स्थित बृहत् खानेपानी आयोजना शुभारम्भ गरिएको छ । थानाभ¥याङ र सिमलटारका करिब ३ हजार परिवारलाई खानेपानी आपूर्ति गर्न उक्त खानेपानी आयोजनाको शुभारम्भ गरिएको हो ।

सो खानेपानी आयोजना बागमती प्रदेश सरकार, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा सुरु गरिएको हो ।

उक्त आयोजनाअन्तर्गत् समवेल निर्माणको काम सकिने चरणमा पुगेको छ भने थानाभर्याङमा ४ लाख ५० हजार लिटर क्षमताको पानी टंकी निर्माणको काम पनि शुरु भएको छ ।

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री एकलाल श्रेष्ठले मंगलबार स्थलगत निरीक्षण गरी पानी टंकी निर्माणको शिलान्यास गरेका थिए ।

आयोजनास्थल निरीक्षणका तथा शिलान्यास क्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामा, उपमेयर राजेश बानिया, वडाध्यक्ष जुना दाहाल खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडा कार्यालयका प्रमुख हरिराम पौडेल, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

यसका लागि बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन हेटौंडा कार्यालयले २ करोड ५० लाख रुपैयाँ, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले १ करोड १२ लाख रुपैयाँ र हेटौंडा उपमहानगरपालिकाले १ करोड रुपैयाँ लगानी गरेको छ ।