हावाहुरीको कारण रुख भाँचिएर लाग्दा मकवानपुरका युवकको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १५:४२
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा हावाहुरीको कारण रुख भाँचिएर लाग्दा आज बिहान एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर २, ट्याङ्की दमार बस्ने २२ वर्षीय रामबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार, गोले बिहान साढे ११ बजेको समयमा आफ्नै घरबाट अन्दाजी ८०० मिटर पूर्वतर्फ बारीमा घाँस काट्न गएका थिए । घाँस काटिरहेको अवस्थामा अचानक आएको हावाहुरी तथा पानीको कारणले साजको रुख अचानक भाचिन गई शरिरको विभिन्न भागमा लाग्दा उनको घटबास्थलमा नै मृत्यु भएको हो ।

मृतक गोलेको शव कानुनी प्रकृया पश्चात पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।