हेटौंडामा तनाव व्यवस्थापन कार्यक्रम

तु खबर संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १५:४१

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा तनाव व्यवस्थापन कार्यक्रम सुरु भएको छ । मकवानपुर जिल्लाका राष्ट्रसेवक कर्मचारीका लागि तनाव व्यवस्थापन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा बैकल्पिक चिकित्सक मकवानपुरले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सहकार्यमा आयोजना गरेको हो ।

कार्यालयमा काम गर्दा हुने तनावलाई कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आर्युवेद तथा बैकल्पिक चिकित्सक प्रमुख डा.ललिता पाण्डेले जानकारी दिइन् ।

हेटौंडा–२, स्थित मानसचोक ब्रह्मकुमारी राजयोगको हलमा हिजोदेखि सुरु भएको कार्यक्रम १८ गते शुक्रबारसम्म चल्नेछ । विहान ६ बजे देखि १० बजे सम्म कक्षा संचालन हुनेछ ।

तनाव व्यवस्थापन कार्यक्रममा ५० जना भन्दा धेरैले तालिम लिइरहेको डा.पाण्डेले जानकारी दिइन् । तालिममा सम्पूर्ण कार्यालय प्रमुखहरु उत्साहितका साथ तालिममा सहभागिता जनाएको डा.पाण्डेले बताइन् ।

तनाव व्यवस्थापन गर्नका लागि ध्यान, योग गर्नुका साथै अस्वस्थकर खानपान, निष्कृय जीवनशैली जस्ताका कारण दीर्घ र नसर्ने रोगका बारेमा प्रशिक्षण गराइएको थियो ।

शहरी स्वास्थ्य जीवनशैलीका लागि योग कक्षामार्फत् विभिन्न सचेतनामूलक क्रियाकलापहरु संचालन गर्ने कार्यक्रमको मुल उद्देश्य रहेको उनले बताइन् ।

योगा एमडी डा.महेश्वर भट्ट, आर्युवेद तथा चिकित्सक प्रमुख डा. ललिता पाण्डे, ओम शान्तिका अभियान्ता विजय सिग्देल लगायतले योग प्रशिक्षण तालिम दिइरहेका छन् ।