हेटौंडामा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम

तु खबर संवाददाता
२०८१ जेष्ठ १४,सोमबार १७:२६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

हेटौंडास्थित बुद्धचोकमा भएको उक्त रक्तदान कार्यक्रम गणतन्त्र दिवस –२०८१ को अवसरमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको हो ।

हातेमालो बचत सहकारी संस्थाको सहयोगमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा उक्त रक्तदान कार्यक्रम भएको थियो ।

रक्तसंचार केन्द्रमा रगतको अभाव नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य मन्त्री श्रेष्ठले बताए । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको बताए । आफ्नो अमूल्य रगत दान गर्ने सहयोगीलाई उनले धन्यवाद समेत दिए ।

हातेमालो सहकारीको १८ औं स्थापना दिवसको अवसर समेत भएकाले उक्त कार्यक्रममा सहकार्य गरेको सहकारीका सचिव सिताराम दाहालले जानकारी दिए ।

कार्यक्रममा नसर्ने रोगहरु मधुमेह, रक्तचापको ८० जनाले निःशुल्क परिक्षण गराएको दाहालले बताए । उक्त रक्तदान कार्यक्रममा हेटौंडा– १ स्थित सन्चो हस्पिटलले सहकार्य गरेको थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्का, प्रवत्ता डा.खगेश्वर गेलाल,सुचना अधिकारी डा.रविन भुसाल लगायको उपस्थिति रहेको थियो ।