चलचित्र पत्रकारिता दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान
मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले विविध विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार हेटौंडामा आयोजित कार्यक्रममा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
संघले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारीलाई र चलचित्र पत्रकारिता पुरस्कार सञ्चारकर्मी बालकृष्ण अधिकारीलाई प्रदान गरेको हो ।
यस्तै, संघले नायक एवम् गायक कोसीस क्षेत्री र कलाकार एवम् व्यवसायी धुर्व न्यौपानेलाई सम्मान गरेको छ । संघले धनमान श्रेष्ठ स्मृतिबाट न्यौपानेलाई र चलचित्र कलाकर्मीबाट क्षेत्रीलाई सम्मान गरेको हो ।
साथै सो क्रममा रातोपाटी मकवानपुरका संवाददाता गणेश दुलाललाई प्रसंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामी, चलचित्र संघ नेपालका केन्द्रीय अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, चलचित्र पत्रकार संघका पूर्ब अध्यक्ष शान्तिप्रिय, बानका उपाध्यक्ष उज्वल चौलागाईँ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा, चलचित्र पत्रकार संघका महिला विभाग प्रमुख दिपज्योती थापा, चलचित्र पत्रकार संघ मकवानपुरका पूर्व अध्यक्ष पोष्टराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
