हेटौंडामा द डिस्टिङग्विस्ड जेन्टलम्यान राईड हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा द डिस्टिङग्विस्ड जेन्टलम्यान राईड (डिजिआर) हुने भएको छ ।
हेटौंडा इन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनमार्फत् यही जेठ ५ गते उक्त द डिस्टिङग्विस्ड जेन्टलम्यान राईडको आयोजना गर्न लागेको जानकारी गराएको हो ।
कार्यक्रम हेटौंडामा पहिलो पटक हुन लागेको हो । पुरुषहरुमा हुने प्रोस्टेट क्यान्सरको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हेटौंडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिए ।
उनले विश्वमा चर्चित मानिएको यो राइड फ्रेन्ड्स अफ रोयल इन्फिन्ड (फोरे) सँगको समन्वयमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको बताए ।
राइडमा सहभागी राइडरहरुलाई ड्रेस कोड नै तोकिएको उनले बताए । उनका अनुसार राइडरहरुले फर्मल पार्टी वेयरमा राइड गर्नेछन् ।
हेटौंडा–४ स्थित सुत्र लन्जबाट सुरु हुने राइड भुटनदेवी मन्दिर दर्शन गरेर हेटौंडा बजार परिक्रमा गर्दै पुनः सुत्र लन्जमा आएर समापन हुने अध्यक्ष शाहीले बताए ।
राइडमा रोयल इन्फिल्ड, भेस्पा लगायत क्लासिक बाइक राईडर्सहरु सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा एक सय भन्दा बढी राइडर सहभागी हने अनुमान गरिएको छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न विधामा पुरस्कार समेत प्रदान गरिने अध्यक्ष शाहीले बताए ।
