भोलि बस्ने प्रतिनिधि सभा बैठकका लागि सम्भावित कार्यसूची तयार

काठमाडौं । भोलि (बिहीबार) बस्ने प्रतिनिधि सभाको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तयार भएको जनाएको छ ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि विभिन्न ९ वटा सम्भावित कार्यसूची तयार पारेको जनाइएको छ ।
बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ ।
यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबार गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।
साथै उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।