नक्कली नोटसहित मकवानपुरबाट पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १७:०५

मकवानपुर । नक्कली नोटसहित मकवानपुरबाट पाँच जना पक्राउ परेका छन् । उनीहरुलाई बुधबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका वडा नम्वर ९ बस्ने १८ वर्षीय सीताराम थिङ, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ घर भई हेटौंडा–४ डेरा गरी बस्ने ३७ वर्षीय सुनिल ढुङगाना, उनका छोरा १८ वर्षीय रोजल ढुङगाना, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २० वर्षीय सोमराज थोकर र २८ वर्षीय रामेश्वर अर्याल रहेका छन् ।

उनीहरुको साथबाट एक हजारको दरले ५५ हजार नेपाली नक्कली नोट बरामद गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, यही वैशाख २६ गते प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले एक हजारको दरले १२ हजार नेपाली नक्कली नोटसहित सीतारामलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा सीतारामलाई उक्त नक्कली नोट हेटौंडा–४ डेरा गरी बस्ने सुनिलले दिएको खुल्ल आएपछि प्रहरीले निजको कोठा खोजतलासी गरेको थियो । सो क्रममा सुनिलको साथबाट एक हजारको दरले ४२ हजार र उनका छोरा रोजलको साथबाट एक हजार गरी ४३ हजारको नेपाली नक्कली नोट बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यस्तै, उक्त घटनाबारे थप अनुसन्धान गर्दा सोमराज र रामेश्वर पनि संलग्न रहेको खुल्न आएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

सो घटनामा संलग्न पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।