आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
साथै आज देशभर आंशिकदेखि साधरणतया बदली रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको जनाइएको छ ।
